कञ्चनपुरमा एमालेको ‘नयाँ मिसन’, पुनर्वास नगर कमिटीले गर्‍यो पुनर्गठनको निर्णय

महेन्द्रनगर । नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरको निर्णयअनुसार जिल्लामा ‘नयाँ मिसन’ अगाडि बढेको छ ।

जिल्ला कमिटी कञ्चनपुरको गत असार ९ गते बसेको जिल्ला कमिटी बैठकले सदस्यता विस्तार र नवीकरणको काम सकिएपछि संगठन सुदृढीकरणमा लाग्ने निर्णय गरेको थियो ।

बैठकले पालिका कमिटीका बैठक साउन १५ गतेभित्र बसी पार्टी कामलाई अगाडि बढाउने निर्णय गरेअनुरूप बैठकहरू बस्न थालेका जिल्ला कमिटी सचिव पल्लबराज भट्टले जानकारी दिए । ‘शुक्रबार पुनर्वास नगर कमिटीको सचिवालय बैठक बसेको छ, शनिबार लालझाडी गाउँ कमिटीको बैठक बस्दैछ, आईतबार बेलौरी नगर कमिटीको बैठक बस्नेछ,’ सचिव भट्टले भने, ‘मिसन ग्रासरुट अभियानको सिकाइपछि पार्टी केन्द्रको निर्णयअनुसार कञ्चनपुर एमाले नयाँ मिसनमा अगाडि बढेको छ ।’

शुक्रबार बसेको पुनर्वास नगर कमिटी सचिवालय बैठकले कमिटीलाई पुनर्गठन गर्ने निर्णय गरेको छ । कमिटीका कतिपय सदस्यहरूको निष्क्रियताका कारण बैठकमा गणपुरक संख्या नपुग्ने समस्या रहेकाले पुनर्गठन गर्नुपर्ने भएको एमाले केन्द्रीय सदस्य तथा पुनर्वास इन्चार्ज नरबहादुर धामीले बताए ।

यसअघि चैत २९ गतेको जिल्ला कमिटी बैठकले मिसन ग्रासरुट अभियानमा प्राप्त सुझावअनुसार पुनर्वास र शुक्लाफाँटा नगर कमिटी पुनर्गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार शुक्रबार बसेको पुनर्वास नगर कमिटीको बैठकमा कमिटी पुनर्गठन गर्ने निर्णय भएको छ ।

नगर अध्यक्ष पदम पुजाराको अध्यक्षतामा भएको बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि राना, केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज नरबहादुर धामी, प्रदेशसभा सदस्य वीरबहादुर थापा, प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लबराज भट्ट, उपसचिव फैरु तामाङ लगायतको सहभागिता थियो ।

नेकपा एमालेले २०८० साललाई अधिवेशनको वर्ष घोषणा गर्दै प्रदेशदेखि टोल कमिटीसम्मका अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन भदौमा हुने र त्यसपछि जिल्ला, पालिका, वडा हुँदै टोलका अधिवेशन हुने कार्यतालिका रहेको कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले जानकारी दिइन् ।

पार्टी कमिटीले सदस्यता विस्तार, संगठन सुदृढीकरण, जनसरोकारका विषयवस्तुको पहिचान र उठान तथा पार्टीमा युवा सहभागिता विस्तारमा जोड दिनुपर्ने नीति एमालेले लिएको जनाइएको छ ।

 

ताजा समाचार